‘ईसेवाको कर्मचारी हुँ’ भन्दै १५ लाख ठगी गर्ने ५ जना पक्राउ

23

काठमाडौँ, १२ कात्तिक । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाह, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढीमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र २१ वर्षीय रितेश कुसवाहा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ईसेवा आइडी, बैंक खातासँग लिंकअप गराइ खाता नवीकरण, केवाइसी फारम अपडेट, सिस्टम भेरिफाइ आदि गराइ ठग्ने गरेको पाइएको छ ।

उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफरलगायत भुक्तानीसमेत गरी १९ जनाबाट १५ लाखभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रवक्ता रेग्मीले बताए ।

उक्त ठगीमा संलग्न उनीहरूलाई रौतहट जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज काठमाडौँ जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...