‘१ किलो फाइन गोल्ड’ लेखिएको धातुसहित ४ जना पक्राउ

12

काठमाडौँ, ३१ भदौ । सुनजस्तो देखिने धातुसहित ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बालाजुबाट सुनजस्तो देखिने धातुसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखाको बिगुल गाउँपालिका–५ घर भइ भक्तपुरको नयाँ थिमी बस्ने ३० वर्षीय भीमसेन विक, काठमाडौँ–३ लाजिम्पाट बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरीको सितापुर गाउँपालिका–८ इटहरूवा घर भइ जोरपाटी बस्ने ३४ वर्षीय दिलिपकुमार चौधरी छन् ।

उनीहरूलाई शुक्रबार बालाजुबाट पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार बालाजु एरियामा सुनजस्तो देखिने धातु देखाएर ठगी भइरहेको भन्ने सूचनाका आधारमा कार्यालयबाट टोली खटिएको थियो ।

टोलीले उनीहरूको साथबाट युपेङ गोल्ड १ किलो फाइन गोल्ड ९९९.९ वाइ १८५२७० लेखिएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरी वृत्त बालाजु पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...