गलकोटको सहस्र झरनामा आन्तरिक पर्यटकको चहलपहल

60
  • थम्मन थापा

बागलुङ, २६ चैत । केही वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । आफैँमा गुमनाम झरना पर्यटकीय स्थल बन्ला भनेर कसैले न सोचेका थिए, न पत्याएका थिए । वर्षौँदेखि जंगलबीच गोलकोत कोतको मुनीदेखि छङ्छङ गर्दै झरना बगिनै रहेको थियो ।

गलकोट नगरपालिका–३ हटियास्थित उक्त सहस्र झरना स्थानीय तह निर्माणसँगै पर्यटक हब बन्दै गइरहेको छ । कुनै समय गुमनाम रहेको झरना हिजो आज भने आन्तरिक पर्यटकको रोजाइमा परेको छ भने चर्चा समेत बटुल्न थालेको छ । आफ्नो पुरानो चिनारी बदल्ने क्रममा रहेको उक्त झरना परिसरमा आवश्यक पूर्वाधार निर्माण गरिएसँगै झरना अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए ।

अहिले गलकोट नगरपालिका सँगै वडा नम्बर ३ का जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा झरनाको विकासमा जुटेको वडा अध्यक्ष खत्रीले बताए । झरनामा पहिलो पटक तत्कालीन गलकोट नगरपालिका–३ का वडा अध्यक्ष वीरजञ्ग भण्डारीको नेतृत्वमा विसं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ)को सफल परीक्षणपछि झरनाले थप चर्चा पाएको थियो ।

त्यसपछि असारमा पहिलो पटक व्यावसायिक रुपमा उक्त खेल खेलाइएको थियो । छाँगावरोहण खेलपछि झरनाबारे धेरैले जानकारी पाए । बाहिर पनि प्रचार प्रसार भयो । सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ) सुरु गरिएको निवर्तमान वडा अध्यक्ष वीरजंग भण्डारीले बताए । “पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो”, उनले भने, “विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्य स्थल बन्दैछ ।”

छाँगावरण लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उत्कृष्ट गन्तव्य रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । जंगलले घेरिएको अक्करे भिरमुनि रहेको उक्त झरनालाई आवश्यक पूर्वाधार निर्माण गरी गलकोटकै महत्वपूर्ण पर्यटन सर्किटको रुपमा विकास गर्न नगरपालिकाले आवश्यक गृहकार्यसँगै कार्य सम्पादन गरिरहेको नगर प्रमुख गैरेले उल्लेख गरे ।

बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किलोमिटर यात्रापछि गलकोट आइपुग्न सकिन्छ भने हटिया बजारबाट आधा घन्टाको पैदल यात्रा र सवारी साधनमार्फत् १० मिनेटमा झरनामा पुग्न सकिन्छ । ८६ मिटर अग्लो मनमोहक झरनाले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको त्यहाँ घुम्न पुगेका आन्तरिक पर्यटक कृष्ण खत्रीले बताए ।

गलकोट नगरपालिका, वडा सरकार सँगै स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवर्द्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको अहिले प्रवर्द्धन गरिरहेका छन् । युवाको सोच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ । वडा मार्फत् सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग समेत भित्रिएको गलकोट नगरपालिका–३ का वडा सदस्य रबिन बोहोरा क्षेत्रीले जानकारी दिए । वडा सदस्य बोहोराले झरनामा ‘क्यनोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन केही आवश्यक पूर्वाधार निर्माण भईसकेको र थप योजना तय गरिएको उल्लेख गरे ।

झरना परिसरमा गलकोट नगर पालिकाबाट विनियोजित रकम पाँच लाख बजेटबाट पदमार्ग, विश्रामस्थल, बगैँचा लगायतका संरचना बनेका छन् । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा सहरी वन प्रवर्द्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले १२ लाख बजेट विनियोजन गरेको थियो । सहस्र झरनामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् ।

Share This:
सम्बन्धित खबर
Loading...