नेपाली टी–२० लिग ‘स्पट फिक्सिङ’ : सिआइबीले १२ जनालाई बनायो प्रतिवादी

89

काठमाडौँ, ३ फागुन । प्रहरीले नेपाल टी–२० लिगका खेलहरूमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । मंगलबार ब्युरोले रायसहितको प्रतिवेदन बुझाएको हो ।

सिआइबी स्रोतका अनुसार १२ जनाविरूद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । घटनामा मुख्य अभियुक्त नेपाल टी–२० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई बनाइएको छ । सो प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)को साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन् । अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रहरीले तीन जना खेलाडीलाई पक्राउसमेत गरेको छ । पूर्वअलराउन्डर महबुब आलम, वर्तमान क्रिकेटर मोहम्मद आदिल आलम र नितेश गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी पक्राउ परेका तीन खेलाडीसहित सेभेन थ्रीका मालिक जतिन अलुवालिया, अभिषेक सकलामी, राहुल शर्मा, एन्ड्रिय म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको हो ।

उनीहरूविरूद्ध राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम ३ वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिबानासम्म सजाय माग गर्न राय दिइएको छ ।

पुस ९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए । स्पट फिक्सिङमा विदेशी खेलाडीको पनि सहभागिता देखिएको छ ।

सिआइबीका अनुसार सुरूमा पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका आलमले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाइ स्पट फिक्सिङको प्रयास गरेका थिए । मोहम्मद आदिल आलमलाई एउटा नो बल र एउटा वाइड बल खेल्न भनिएको र उनले दुईवटा खेलमा सोही प्रकृतिको खेल खेलेको दाबी सिआइबीको छ ।

एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन समूहबाटै लोभ देखाएर फिक्सिङको प्रस्ताव गरेको पनि प्रहरीले जनाएको छ । टिम म्यानेजरको निर्देशनमा विदेशी खेलाडीले एक सेसनमा निर्धारित रन मात्रै बनाइ स्पट फिक्सिङ गरेको सिआइबीको दाबी छ ।

केही फ्रेन्चाइज टिमको आर्थिक स्रोत र खेलाडीको पारिश्रमिकको स्रोत पनि खुलेको नपाइएको जनाएको छ ।

 

याे पनि हेर्नुस्

‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

नेपाल टी–२० लिगको ‘स्पट फिक्सिङ’मा १० जनाको संलग्नता

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...