एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

40

चितवन, २२ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गरे । उनले भने, “अहिले संसद्‌मा एमाले प्रतिपक्षमा रहन्छ ।”

अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसद्‌मा कुनै पनि दलले बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो ।

देशमा आर्थिक र राजनीतिक संकट देखा परे नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए । निर्वाचनमा जनताले पुराना ठुला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठुला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए । “एमाले र कांग्रेस सच्चिनुपर्छ,” उनले भने, “जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो ।”

तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...