जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिने

106

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको शपथ लिने भएका छन् । स्रोतका अनुसार शर्माको शपथको तयारी भइसकेको छ ।

पार्टीमा छलफल गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै छन् । प्रधानमन्त्रीले शर्माको नाम शीतल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनीयताको शपथ लिने छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो ।

समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो । अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद्ले भने फरक मत बुझाएका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...