देशलाई विकास र स्थिरता दिन एमालेको बहुमतको सरकार चाहिन्छ : ओली

230

काठमाडौँ, ४ साउन । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिरमा हुनै पर्ने बताएका छन् । सत्ता गठबन्धनले आगामी फागुनतिर पनि गर्न सकिने गरी छलफल अघि बढाएका बेला ओलीले दुवै तहको निर्वाचन मंसिरमै हुनुपर्ने अडान राखेका हुन् ।

‘आगामी मंसिरमा चुनाव गराउनुपर्छ । यसलाई तलमाथि हुन दिनु हुँदैन,’ एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौँमा बुधबार सम्बोधन गर्दै उनले भने, ‘यसबीचमा दैनिक भ्रष्टाचारका घटना बढिरहेका छन् । यीविरुद्ध एमाले पंक्तिले लड्नुपर्छ ।’

उनले सरकार दमनकारी ढंगले ओर्लिएको बताउँदै त्यसको प्रतिकार गर्न पनि एमाले कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले मंसिरको चुनावपछि एमालेको सरकार बन्नुपर्ने पनि बताए । ‘राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ । आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ,’ उनले भने, ‘हाम्रो आफ्नै कारणले गत स्थानीय निर्वाचनमा सोचेजस्तो परिणाम आएन । कति इमानका साथ हामीले गर्‍यौँ र सोच्यौँ व्यवहार गर्‍यौँ एकपटक सबैले सोच्नुहोला ।’

अध्यक्ष ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न पनि निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताए । ओलीले आफूले साढे तीन वर्ष सरकार चलाउँदा निकै राम्रोसँग चलाएको तर एक वर्षअघिदेखि बनेको सरकारले केही काम गर्न नसकेको आरोप लगाए ।

‘हामीले सरकार चलाउँदा कोभिड थियो । दुई वर्ष त्यसकै रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्‍यो । तर, अहिले कोभिड छैन । यो सरकार निकम्मा भयो । त्यसैले अर्को निर्वाचनपछि एमालेको बहुमत सरकार चाहिन्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले ‘समाजवादी केन्द्र’ बनाउने नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) नेकपा राष्ट्रिय एकता अभियानको अभियानतिर लक्षित गर्दै अर्को फुटका लागि एकता अभियान सुरु गरिएको टिप्पणी गरे । तत्कालीन नेकपामा रहेका बहुमत सचिवालय सदस्यको मंगलबार सिंहदरबारमा भएको छलफलप्रति लक्षित गर्दै उनीहरुले फुट्नका लागि अभियान चलाएको दाबी गरे ।

‘एउटा एउटा कहानी सुरु हुन्छ । आज सञ्चार माध्यममा सुन्नुभो हो एकताको अभियानका लागि को को कता बैठक बस्यो रे,’ उनले भने, ‘फेरि अर्को फुट चाहिएको छ नि ! अर्को फुटका लागि फेरि एकता अभियान सुरु भो । जुट्नका लागि होइन, फुटका लागि ।’

मंगलबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलगायत नेताहरु पार्टी एकताका लागि छलफल गरेका थिए । उक्त छलफलप्रति लक्षित गर्दै उनीहरु जुट्न नसक्ने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले धेरै हतार गरेर अहिलेको पाँच दलीय गठबन्धन नतोड्ने बताए । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एकदिन आफैँ तोडिने उनले दाबी गरे ।

‘सबैले भन्छन्, यो गठबन्धन तोडौँ । तर, मैले भने होइन यो गठबन्धन आफैँ टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैँ टुट्छ,’ उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...