मिटरव्याजी रामदेव साहबाट ठगिएका पीडितहरूलाई प्रमाणसहित आउन प्रहरीको आग्रह

90

सप्तरी, १ असार । सप्तरीको कुख्यात मिटरब्याजी रामदेव साह तेली परिवारबाट ठगिएका पीडितहरुलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीले आह्वान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीदले बुधबार एक सूचना जारी गर्दै प्रमाणसहित इलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क गर्न आह्वान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी निरीक्षक भानु खड्काद्वारा जारी सूचनामा तेली परिवारबाट ठगी भएको भए आवश्यक प्रमाण लिइ सम्पर्कमा आउन अनुरोध गरेको हो ।

खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर स्थायी वतन भएका रामदेव साह, उनका श्रीमति शिवकुमारी देवी साह, छोरा नन्दकिशोर साह, छोरीहरु रेणुकुमारी साह, अनुराधाकुमारी साहसमेतले विभिन्न मानिसलाई मालपोत कार्यालयमा धितो स्वरुप घरजग्गा तथा अन्य जायजेथा रजिष्ट्रेसन गराइ चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र लिएको ऋण रकमको साँवा ब्याज समेत चुक्ता गर्दासमेत घरजग्गासहित फिर्ता नगरी ठगी गर्दै आएको भनि यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा पीडितहरुको जाहेरी दर्खास्त परी अनुसन्धान भइरहेको सूचनामा जनाएको छ।

साहसहित परिवारले ठगी गरेको भए पीडितहरू आवश्यक प्रमाणसहित आउन प्रहरीले सूचनामार्फत् पीडितहरुलाई आग्रहसमेत गरेको छ ।

सर्वसाधारण मानिसको घरजग्गा समेतको जायजेथा धितो राखी चर्को ब्याजमा ऋण लिइ रकम चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा नपाई वा अन्य कुनै किसिमले ठगी गरेको भए प्रमाणसहित लिई यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क राख्न सर्वसाधारण सबैमा जानकारीको साथ निनम्र अनुरोध छ, भनी जिल्ला प्रहरी कार्यालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

मिटर ब्याजी साहका छोरा नन्दकिशोर साह, छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । मुख्य अभियुक्त रामदेवलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...