डा.लोहनीलाई वीर अस्पतालमा पठाएपछि कर्मचारी विरोधमा

213

काठमाडौँ । सरकारले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रमुखमा डा.गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।

पटक–पटक नेतृत्व परिवर्त हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । विरोध स्वरुप उनीहरु बिहाान १० बजेदेखि अस्पतालमा धर्नामा बसेको स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिए ।

“गुणराज लोहनी छोटो समयमा अवकाश हुँदै हुनुहुन्छ । परिवर्तन नै गर्ने हो भने लामो समयका लागि डाक्टर ल्याउनुपर्छ । स्वास्थ्य मन्त्रालयमा रहँदा नै उहाँले वीर अस्पतालको विरोध गर्नुहुन्थ्यो । त्यस्तो व्यक्तिलाई नियुक्त गरेर ल्याउने प्रयास भएको छ । त्यसको विरोधमा नै हामी धर्नामा बसेका हौँ ।”

अस्पतालको विकास देख्न नचाहने व्यक्तिलाई नै सरकारले प्रमुख बनाएको उनीहरुको भनाइ छ । कर्मचारीको समस्या समाधान गर्ने, अस्पतालको सुधार र विकासका लागि काम गर्ने र दीर्घकालीन योजना भएका व्यक्तिलाई अस्पतालको प्रमुख बनाउनुपर्ने उनीहरुको माग छ ।

राष्ट्रियसभा निर्वाचनको आचारसंहिताका कारण पुरानो मिति राखेर लोहनीलाई वीरमा सरुवा गरिएको र १२औँ तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवामा प्रधानमन्त्रीलाई जानकारीसमेत नभएको कर्मचारी संघका नेताहरुको आरोप छ । लोहनी माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्य पनि हुन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबार मात्र लोहनीलाई वीरको १२औँ तहको प्रशासकीय प्रमुखमा सरुवा गरेका थिए । यसअघि डा.जागेश्वर गौतमलाई त्यहाँबाट हटाएर डा.भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...