काठमाडौँ । उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरु कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १०औँ पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ । यस्तै, जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
नेता किम जोङ्ग इलको १०औँ पुण्यतिथि परेकाले ११ दिनसम्म शोक मनाउन लागिएको हो । सामान्यतया प्रत्येक वर्ष १० दिने शोक अवधि मनाइन्छ ।
१० वर्ष उत्तर कोरियामा शासन गरेको किम जोङ्ग इलको निधन १७ डिसेम्बर २०११ मा भएको थियो ।