केपी ओलीलाई प्रधानमन्त्रीको कुर्सी भुल्न निकै कठिन भइरहेको छ : पञ्चा सिंह

225

टीकापुर । अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सत्ता छाड्नु पर्दाको पीडाले प्रचण्डविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखिरहेको आरोप लगाएकी छन् ।

अखिल (क्रान्तिकारी)कैलालीद्वारा बिहीबार वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुरमा आयोजित संगठन सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले एमाले अध्यक्ष ओलीमाथि यस्तो आरोप लगाएकी हुन् ।

“केपी ओली दुई–दुई पटक संसद्को हत्या प्रयास गर्दा पनि सत्ताको आयु लम्ब्याउन नसकी कुर्सी छाड्नु पर्दाको पीडा भुल्न नसकेर प्रचण्डमाथि विष बमन गरिरहेछन् । उहाँलाई साढे तीन वर्षको बालुवाटार बसाइ भुल्न निकै कठिन भइरहेको छ,” उनले भनिन् ।

गणतन्त्रका लागि भएको संघर्षमा केपी ओलीको भूमिकामाथि थप टिप्पणी गर्दै नेतृ सिंहले अगाडि भनिन्, “निरंकुशताविरुद्धको निर्णायक लडाइँमा केपी ओलीको भूमिका के थियो ? नेपाली राजनीतिमा बयलगाडा के हो नेपाली जनतालाई राम्रोसँग थाहा छ ।”

पछिल्लो समय केपी ओलीले प्रचण्डमाथि सार्वजनिक रुपमा तिखो टिप्पणी गर्दै आएका छन् । केही दिनअघि उनले ज्ञानेन्द्रसँग ५ बुँदे गोप्य सम्झौता गरेको तथा सेयर कारोबारीबाट चन्दा नपाएपछि सेयर बजारमाथि गलत अभिव्यक्ति दिएको आरोप लागाएको सन्दर्भलाई प्रतिवाद गर्दै विद्यार्थी नेतृ सिंहको यस्तो भनाइ आएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...