जाडोमा जोगिन अपनाउनुस् यी १० टिप्स

231

काठमाडौँ । जाडो मौसममा स्वास्थ्यसम्वन्धी समस्याहरु देखा पर्ने गर्दछ । विशेषगरी मुटु, उच्च रक्तचाप, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्नसक्छ । जाडोमा शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ ।

जाडो मौसममा सबैभन्दा बढी त रोगी, बुढापाका, बालबालिका, सुत्केरीलाई गाह्रो हुन्छ । बुढापाकाहरु चिसोले कक्रिन्छन् । जोर्नी दुख्ने समस्या थप बढ्छ । बालबालिकालाई रुघा लाग्ने, निमोनिया हुने संभावना बढ्छ । त्यसबाहेक हातखुट्टा, ओठ फुट्ने, छाला खस्रो हुने, कपलामा चाँया पर्ने जस्ता समस्या चिसो हावासँगै आउने गर्छ । वायुमण्डलमा चल्ने हावा यसबेला चिसो मात्र होइन, सुख्खा पनि हुन्छ । त्यही कारण छाला, कपाल रुखो हुन्छ ।

१. खानपानमा ध्यान दिनेः
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।

२. शरीरलाई क्रियाशील राख्नेः
जाडो मौसममा बाहिर हिँड्डुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँड्डुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।

३. वजन बढ्न नदिनेः
जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।

४. छाला स्वस्थ राख्नेः
जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ ।

५. पर्याप्त सुत्नेः
वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घन्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।

६. पर्याप्त तातो पानी पिउनेः
जाडो मौसममा चिसो पानी नपिउनु नै राम्रो हुन्छ । तातो पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी नदुख्ने हुन्छ । जाडोमा पानी पिउने रुचि कम हुन्छ । त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ । साथै,दिउँसोतिर बेलाबेलामा ठुलो ग्लासमा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ । जसले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ ।

७. तनावरहीत हुने
तनावका कारण मानसिकसँगै शारीरिक रोग लाग्ने जोखिम बढ्ने भएकाले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने आदि गर्नुपर्छ ।

८. रक्तसञ्चार सुचारु राख्नेः
जाडोमा रगत जम्ने भएकाले रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन, जसले गर्दा हातखुट्टा चिसो हुने आदि हुन्छ । यस्तो हुन नदिन हिँड्डुल गरिरहने, व्यायाम गर्ने, बसेर काम गर्दैगर्दा बीचबीचमा उठेर यताउति टहल्ने, मोजा–पञ्जा आदि लगाउने गर्नुपर्छ । रगत राम्रोसँग सञ्चार हुन पाएन र जम्यो भने यसले शरीरमा विभिन्न हानि पुर्याउँछ ।

९. न्यानो कपडा लगाउनेः
कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौँ र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्छौँ । यस्तो गर्नु हुँदैन । छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ । न्यानो कपडा नलगाए चिसो गढ्ने, रुघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना रहन्छ ।

१०. बिरामीबाट परै रहनेः
रुघाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ । त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि गर्नुपर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...