चितवन प्रहरीको ‘अप्रेसन मेक चार्ली’ यसरी भयो सफल

270

काठमाडौँ । नक्कली सवारी किताब तयारी गरी चोरीका मोटरसाइकल प्रयोग गर्ने गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चोरीका मोटरसाइकलविरुद्ध ‘अप्रेसन मेक चार्ली’ अभियान नै सञ्चालन गरेर चितवन प्रहरीले नक्कली सवारी किताब तयार गरी चोरीका मोटरसाइकल प्रयोग गर्ने १६ जनाको गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट नक्कली सवारी किताबसहित मोटरसाइकलहरू बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो करिब एक महिनाको अवधिमा मोटरसाइकल चोरी तथा खरिद बिक्रीमा संलग्न गिरोह विभिन्न ठाउँबाट पक्राउ परेको हो ।

थापाका अनुसार गत २७ भदौमा बागमती प्रदेश ०२–०१८ प ७२६० र बागमती प्रदेश ०२–०१८ प ३५२७ नम्बरको मोटरासाइकल तथा नक्कली सवारी दर्ता किताबसहित सरोज खतिवडा र मीनबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको थियो ।

“सोही नक्कली किताबका आधारमा उक्त गिरोह नै पक्राउ गर्न प्रहरी सफल भएको हो,” थापाले भने, “१६ जनासहित उनीहरूको साथबाट मोटरसाइकल, मोटरसाइकल चोरीमा प्रयोग हुने सामान र नगदसमेत बरामद गरिएको छ ।”

प्रहरीका अनुसार २७ भदौमै उक्त चोरीका मोटरसाइकल बिक्री गर्ने भरतपुर महानगरपालिका–२१ का ३२ वर्षीय टेजन पुनलाई बा९५प २८०० नम्बरको मोटरसाइकल र सवारी दर्ता किताबसहित पक्राउ परेका थिए ।

सोही दिन भरतपुर–१५ बस्ने ३४ वर्षीय हिमाल पुन प्रदेश ३–०२–०२१ प १४५६, २३ वर्षीय अरूण पुन प्रदेश ३–०२–०१५ प ६७८९ र वडा नम्बर १६ बस्ने २५ वर्षीय सज्जन बुढाथोकी प्रदेश ३–०२–०२५ प ४२५९ नम्बरको मोटरसाइकल र नक्कली सवारी दर्ता किताबसहित पक्राउ परे । यस्तै भरतपुर–४ का ४० वर्षीय अरूण कँडेल, भरतपुर–११ बस्ने २२ वर्षीय अनिष श्रेष्ठ र २४ वर्षीय अशोक कुमाललाई पनि प्रहरीले पक्राउ गरेका छ । टेजन, अरूण, अनिष र अशोक बरामद गरिएका मोटरसाइकलहरूको खरिद बिक्रीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कका २८ वर्षीय रविन गुरूङ बागमती प्रदेश ०३–००४ प ४७४८ नम्बरको बुलेट मोटरसाइकलसहित ३ असोजमा पक्राउ परे । बसपार्कमा पार्किङ गरेर राखिएको उक्त मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल ३ गते नै बिक्री गर्ने कार्यमा संलग्न भरतपुर–२ का २२ वर्षीय उदय गुप्तालाई पोखरा बसपार्कबाट र बारा बारागढी गाउँपालिका–६ का २८ वर्षीय राजेश चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उदयको कोठाबाट मोटरसाइकल बिक्री गरेको रकममध्ये २४ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल चोरी गर्ने बारा करैयामाई गाउँपालिका–९ बस्ने ३२ वर्षीय सुनिल चौधरी र जितपुर सिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लक्की चौधरीलाई भरतपुर–१० बाट प्रदेश २–०३–०१५ प २१२३ नम्बरको ड्यूक मोटरसाइकलसहित पक्राउ परे ।

लक्कीको साथबाट ३ हजार ८० रुपैयाँ र सुनिलको साथबाट ६३ हजार ९ सय २० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । सुनिल र लक्कीले उक्त मोटरसाइकल चोरी गरेर राजेश र उदयमार्फत ९५ हजारमा रविनलाई विक्री गरी २५ हजार आफैले राखेर ७० हजार चोरी गर्ने सुनिल र लक्कीलाई दिएको खुलेको छ । पक्राउ परेका मानिसहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अप्रेशन सञ्चालन गरेपश्चात १ महिनाको अवधिमा बुलेट, पल्सरलगायत विभिन्न कम्पनिका १३ वटा चोरीका मोटरसाइकल र उक्त चोरी कार्यमा संलग्न १६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२५ लिखतसम्बन्धी कसूरको दफा २७६ मा सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना र परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरको दफा २४२ मा चोरी गर्ने वा गराउनेलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

Share This:
सम्बन्धित खबर
Loading...