प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : साझा कार्यक्रम बनाइने

591

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार पाँच दलीय गठबन्धनको ‘म्यान्डेट’, मन्त्रिपरिषद् विस्तार, सरकारका साझा कार्यसूचीका विषयमा छलफल भएको छ ।

सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दल सरकारमा सहभागिताका विषयमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल जारी रहेको बताइन् ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले कोटेश्वरस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

शीर्ष नेताहरूबीच सरकारमा गठबन्धन पार्टीको सहभागिता, सरकार सञ्चालनका लागि साझा कार्यसूची, सरकारको कामकारबाहीमा प्रभावकारिता, कोरोना महामारी नियन्त्रण, आर्थिक चलायमान बनाउने र यसअघिका संवैधानिक नियुक्ति बदर गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन र प्रतिनिधि सभा पुनःस्थापना गर्न सक्रिय गठबन्धन पार्टीका नेताहरूले केही दिनमै सरकारलाई पूर्णता दिई कोरोना महामारी नियन्त्रण, मनसुनजन्य विपत् व्यवस्थापन र आर्थिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको जनाएका छन् ।

सर्वोच्च अदालतको असार २८ को फैसलापछि प्रधानमन्त्री देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साता भएको छ । प्रधानमन्त्री देउवासहित पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार हुन बाँकी छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेपाल–खनाल समूहलाई पनि सरकारमा सहभागी हुन यसअघि नै आह्वान गरिसकेको छ । तर नेपाल–खनाल समूहले सरकारमा सहभागिताबारे निर्णय लिइसकेको छैन । गोरखापत्र दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...