यात्रुलाई ठग्ने धमाधम पक्राउ गर्दै ट्राफिक प्रहरी

600

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्ला जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउन्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।

महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरि विशेष टोली परिचालन गरेका छौँ, टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्यरुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखि नियन्त्रणमा लिने गरेको उनले जानकारी दिए ।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने वर्ष ३४ को राम सुरेल पक्राउ गरेको महाशाखाले पुष्टि गरेको छ ।

काठमाण्डौंदेखि पूर्व झापा मोरङ जाने यात्रुहरुसँग जनही ३ हजारदेखि ४ हजार ५ सयसम्म भाडा लिने ईन्द्रेणी हाइसको काउण्टर र प्रदेश३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यसरी महामारीमा सार्वजनिक सवारी संचालनमा पूर्ण रोक लगाएको भएता पनि विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लाने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी बिहीबार प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...