संकलित नमुनामध्ये ५१ प्रतिशतमा कोरोना संक्रमण

421

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना परीक्षण गरिएका नमुनामध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाका अनुसार सोमबार संकलन गरिएका १ सय ७९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ९२ जनामा संक्रमण भेटिएको छ । जुन कुल संक्रमितको ५१ प्रतिशत हो ।

अस्पतालमा उपचाररत सबै बिरामीलाई अक्सिजन आवश्यक भएको अस्पतालका प्रवक्ता डा. बसौलाले बताए । अवस्था प्रतिकूल हुँदै गएका कारण संक्रमण नियन्त्रणका लागि सबैलाई सजग हुन चिकित्सकले अनुरोध गरेका छन् । “केही तलमाथि हुने गरेको छ । तर, संक्रमण तीव्र हुँदै गएको यथार्थ हो । त्यसैले सबै सचेत बनौँ,” प्रवक्ता डो बसौलाले भने ।

संक्रमणको समस्या गहिरिँदै गएपनि समाजमा यो संक्रमणप्रति सजगता बढ्न नसकेको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीको भनाइ छ । “अस्पतालमा बिरामी कुर्न भनेर बसेको व्यक्ति आफैँ संक्रमित छ । तर, अस्पतालभरी घुमिरहेको छ । होम आइसोलेसनमा कुनै परिवार बसेको छ भने लक्षण नभएको एकजना सदस्य बजार डुल्ने गरेको भेटियो । यस्ता समस्याले खतरा बढाइरहेको छ,” डा.अधिकारीले भने ।

चितवन जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबार मध्यान्नसम्म जिल्लामा १ हजार २ सय ११ जना संक्रिय संक्रमित छन् । हालसम्म कुल संक्रमितको संख्या ८ हजार २ सय १२ जना पुगेको छ । संक्रमितमध्ये १ सय १८ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...