साता दिनभित्र चिकित्सकको सुरक्षाका लागि अध्यादेश ल्याउन माग

438

काठमाडौं । चिकित्सकको सुरक्षाका लागि साता दिनभित्र अध्यादेश ल्याउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ ।

अध्यादेशमार्फत् कानुन ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने समेत संघले चेतावनी दिएको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत् कानुन ल्याउन आवश्यक रहेको जनाएको छ ।

“नेपाल चिकित्सक संघ भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गर्न र आजको मितिबाट ७ दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेशमार्फत् कानुन ल्याएर सुरक्षित वातावरणको सिर्जना गर्न माग गर्दछ,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“यस्तो परिस्थिति नबनेमा नेपाल चिकित्सक संघ थप कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयम् सरकार हुने समेत जानकारी गराउन चाहन्छौँ ।”

जेठ १३ गते भेरी अस्पताल तथा त्यसअघि विराट मेडिकल कलेज अस्पतालमा भएको घटनाले सिंगो चिकित्सा क्षेत्र असुरक्षित बन्दै गएको संघले निष्कर्ष निकालेको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...