नेपाल सुपर लिग आजदेखि सुरुः उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

315

काठमाडौं । नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच उद्घाटन खेल हुनेछ ।

काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

आयोजकले कोरोना भाइरसको महामारी बाबजुद सरकारसँग छलफल गर्दै सरकारको अनुमतिमा लिग आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिताका डिरेक्टर श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना गर्न गइरहेको बताए । सरकारको सबै स्थानमा पत्र पठाएर स्वीकृती लिएर अघि बढेको उनले बताए । प्रतियोगिता डिरेक्टर कार्कीले दर्शकलाई अनुमति नमिले पनि फरक माध्यमबाट प्रतियोगिताले खेलकुदको माहोल ल्याउने बताए ।

पहिलो संकरणको लिगमा ७ फ्रेञ्चाइज टिमको सहभागिता रहेको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख पाउने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...