कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

416

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियू र शय्या भरिएका छन्। शय्या भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।

कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शय्या भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियू शय्या छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शय्या प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा.पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शय्या भरिभराउ भएको जनाएको छ।

अस्पतालमा तीनरचार दिनदेखि नै आइसियु र अन्य शय्या भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए। अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरोमात्र आएकालाई औषधि दिएर होम आइसोलेसनमा पठाउन थालेको उनले बताए। यो अस्पतालमा २० वटा आइसियुसहित ५४ वटा शय्या कोभिड उपचारका लागि छुट्याइएको छ। बिरामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आयुर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको उनले बताए।

वीर अस्पतालले पनि कोभिडका बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिन थालेको जनाएको छ। वीर अस्पतालमा १० वटा आइसियू र ६२ वटा शय्या कोभिडका बिरामीको उपचारका लागि छुट्याइएको छ। सबै शय्या भरिएपछि थप्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ उपचार सम्पर्क चिकित्सक अच्युत कार्कीले बताए।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीनरचार दिनदेखि कोभिड शय्या भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए। यो अस्पतालमा कोभिड उपचारका लागि ११ वटा आइसियूसहित ६० शययाको व्यवस्था गरिएको छ। बिरामी बढेपछि शय्या थप्ने तयारी भइरहेको जानकारी थपलियाले दिए। संक्रमण तीव्र भएकाले बिरामीले सामान्य शय्यासमेत पाउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकले बताएका छन्।

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भिडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्ररूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन्। सरकारले उपचारका लागि शय्या बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा। कार्कीले बताए। ‘शययामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन’, उनले भने। सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने।

तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक थपलियाको छ। ‘नेपालमा भारतकै शैलीमा संक्रमण तीव्र भएकाले नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने देखिन्छ’, उनले भने। तर लकडाउन गर्नुअघि सरकारले जनतालाई केही दिनअघि नै सूचना दिनुपर्ने उनी बताउँछन्।

शुक्रराज ट्रपिकल अस्पतालका डा।बास्तोला संक्रमणबाट जोगिन अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाउँछन्। ‘संक्रमित बढेमा शय्या पाए पनि मृत्यु हुने सम्भावना हुन्छ, बरु अस्पतालमै जानुनपर्ने गरी जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गरौं’, उनको आग्रह छ।

राजधानीका मुख्यमुख्य कोभिड अस्पतालहरू भरिएपछि बिरामी व्यवस्थापन गर्न हम्मे परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक लागु गर्न, गराउन आदेश दिए पनि पूर्ण रूपमा पालना हुन नसकेकाले स्थिति गम्भीर बन्दै गएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए। मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए। ‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ’, उपत्यकामा लकडाउनसमेत गर्नुपर्ने अवस्था आइसकेको तर्फ संकेत गर्दै उनले भने।

एकै दिन २४ सय २८ जनामा संक्रमण
पछिल्लो चौबिस घन्टामा कोरोना संक्रमण दर अघिल्लो दिनभन्दा बढेर २३।२३ प्रतिशत पुगेको छ। चौबिस घन्टामा परीक्षण भएका १० हजार ४ सय ४८ वटा नमुनामध्ये २४ सय २८ मा संक्रमण पुष्टि भएको छ। योसहित मुलुकमा सक्रिय संक्रमित संख्या १२ हजार ६ सय ९० पुगेको छ। त्यस्तै कुल संक्रमित संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ।

सक्रिय संक्रमितमध्ये १ सय ७० जना आइसियूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा ३ सय ९६ जना संस्थागत आइसोलेसनमा, ५२ जना आइसियूमा र ३८ जना भेन्टिलेटरमा छन्। चौबिस घन्टामा काठमाडौंमा ९ सय ८७ जना र भक्तपुरमा ८६ जना संक्रमित भएका छन्। पछिल्लो चौबिस घन्टामा ८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ। नागरिक दैनिकमा छापिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...