‘युके भेरियन्ट’ अझ शक्तिशाली छ, विद्यालय बन्द गरेर बालबालिका बचाऔं : डा पुन

480

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाति तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापरबाही नगर्न सुझाव दिएका छन् । युके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गर्न आग्रह गरे ।

संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पुनले भने, “युके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीव्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नपनाए नियन्त्रण बाहिर जान सक्छ ।” उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिएजति तीन महिनामै पुगेको बताए ।

आफूहरुले केही समय पहिले काठमाडौं कोरोनाका नयाँ हट स्पट बन्ने भन्दा विरोध भएको सम्झदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारत र तराईबाट काठमाडौं पसेका व्यक्तिहरु खुलमखुलारुपमा हिँड्डुल गरिरहनु खतराको घन्टी भएको बताउँदै डा. पुनले भिडभाडमा नजान आग्रह गरे । स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौं भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए ।

कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए । उनले शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए ।

“नयाँ प्रजातिको कोरोना तीव्ररुपमा फैलिरहेको छ । अहिले देशभर भौतिकरुपमा शैक्षिक संस्था संचालन भइरहेका छन् । स्वास्थ्य मापदण्ड पालना बालबालिकामा निकै कम देखिन्छ । विद्यालय कोरोना फैलिन माध्यम बन्ने खतरा देखिन्छ” डा. पुनले भने । उनले बालरोग विज्ञ र अस्पताल पनि कम भएको बताउँदै विद्यालयबाट कोरोना परिवार हुँदै समुदायमा पुग्ने खतरा रहेको बताए । बालबालिकालाई बचाउनेबारे सोच्ने बेला आइसकेको भन्दै पुनले अभिभावकलाई गम्भीर बन्न आग्रह गरे ।

डा. पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिए ।

Share This:
सम्बन्धित खबर
Loading...