रोड सेफ्टी वर्ल्ड सिरिज : बंगलादेशमाथि दक्षिण अफ्रिकाको कीर्तिमानी जित

392

राइपुर । रोड सेफ्टी वर्ल्ड सिरिज अन्तर्गत दक्षिण अफ्रिका लिजेन्डले बंगलादेशमाथि कीर्तिमानी जित हासिल गरेको छ । सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १ सय ६१ रनको लक्ष्य दक्षिण अफ्रिकाले चार बल बाँकी रहँदा बिना विकेटको नोक्सानमा पूरा गर्यो ।

एन्ड्रयू पुटिक र मोर्ने भ्यान विकले १ सय ६१ रनको साझेदारी गर्दै जित दिलाए । पुटिकले ८२ तथा मोर्नेले ६९ रनको अविजित पारी खेले ।

पहिलो विकेटका लागि १ सय ६१ साझेदारी गरेका पुटिक र मोर्ने र भारतका सचिन तेन्दुल्कर र विरेन्द्र सहवागको रेकर्ड तोडेका छन् । प्रतियोगितामा सबैभन्दा ठूलो साझेदारी गरेका सचिन र सहवागले पहिलो विकेटका लागि १ सय १४ जोडेका थिए ।

यसअघि सहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियम टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।

बंगलादेशका अफ्ताब अहमदले ३९, हन्नान सरकारले ३६, नाजिमुद्दिनले ३२ रनको योगदान दिए ।

जितसँगै दक्षिण अफ्रिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । भारत र श्रीलंका यसअघिनै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको आजको खेलबाट सेमिफाइनलमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...