दक्षिण अफ्रिकामाथि पाकिस्तानको रोमाञ्चक जित

230

लाहोर । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्ताले ३ रनको रोमाञ्चक जित हासिल गरेको छ । बिहीबार भएको खेलमा ३ रनले विजयी हुँदै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको हो ।

लाहोरस्थित गद्दाफी स्टेडियमा टुस हारेर पहिलो ब्याटिङको निम्तो पाएको घरेलु टोली पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले शतकीय योगदान दिए । ६४ बलको सामना गरेका रिजवानले ७ छक्का र ६ चौकाको मद्धतमा नटआउट १ सय ४ रनको पारी खेले ।

खराब सुरुवात गरेको पाकिस्तानले एक रनको स्थितिमा बाबर आजमलाई शून्य रनमा गुमाएको थियो । एक छेउबाट विकेटको पतन भइरहे पनि अर्को छेउबाट रिजवानले पारीलाई सम्हाले ।

यस्तै, हैदर अलीले २१, हुसैन तलातले १५ तथा खुशदिल साहले १२ रनको पारी खेले ।

१ सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पुरै ओभर खेल्दै १ सय ६६ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि ५३ रनको अर्धशतकीय साझेदारी गरेका रीजा हेन्ड्रिक्सले ५४ तथा जेन्नेमन मलान ४४ रन बनाए ।

यस्तै, ब्योर्न फोर्टुइनले १७, ड्वाइन प्रिटोरियसले १५, एन्डिल फेहलुकवेओले १४ तथा हेनरिक क्लासेनले १२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पाकिस्तानका हरिस रौफ र उस्मान क्वादिरले समान २–२ तथा फहीम अस्रफले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...