सिड्नी सिक्सर्स बन्यो दशौँ संस्करणको बिबिएल च्याम्पियन

192

सिड्नी । सिड्नी सिक्सर्स दशौँ संस्करणको बिग बास लिग(बिबिएल) को च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा पर्थ स्कोचर्सलाई २७ रनले पराजित गर्दै सिक्सर्सले तेस्रो पटक बिबिएलको उपाधि चुमेको हो ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिक्सर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको सिक्सर्सका लागि ओपनर जेम्स भिन्सले ९५ रनको सर्वाधिक योगदान दिए । भिन्सले ६० बलमा ३ छक्का र १० चौकाको मद्धतमा उक्त रन बनाए ।

अर्का ओपनर जोस फिलिप्सलाई ९ रनको ब्यक्तिगत स्कोरमा एन्ड्रयु ताइले रन आउट गरे ।

निरन्तरको अन्तरालमा विकेटको पतन भएपनि भिन्सले अर्को एण्डबाट पारीलाई सम्हाल्दै टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।

सिक्सर्सका दानिएल क्रिस्टियन २०, मोइसेस हेनरिक्स १८, जोर्डन सिल्क १७, दानिएल ह्युज १३ रनमा आउट भए ।

पर्थका झाइ रिचर्डसन र एन्ड्रयु ताइले समान दुई–दुई तथा फवाद अहमदले एक विकेट लिए ।

१ सय ८९ रनको विजयी लक्ष्यलाई पूरा गर्न मैदानमा उत्रिएको पर्थले ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र बनाउन सक्यो ।

पर्थका लियम लिभिङ्स्टोनले ४५, क्यामरोन बेनक्रोफ्टले ३०, आरोन हार्डीले २६ तथा जोस इंग्लिसले २२ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन ।

पर्थलाई कम स्कोरमा रोक्ने क्रममा सिक्सर्सका बेन ड्वार्सुइसले ३, ज्याक्सन बर्ड, दानिएल क्रिस्टियन र सिन एब्बोटले समान दुई–दुई विकेट लिए ।

२०२०–२१ को उपाधि जितेसँगै सिक्सर्सले लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सिक्सर्सले २०१९–२० र २०११ मा बिबिएलको उपाघि जितेको थियाे ।

Share This:
सम्बन्धित खबर
Loading...