विद्यालय, होटल रेष्टुरेन्ट बन्द गर्नु कोरोना नियन्त्रणको उत्तम उपाय : अध्ययन

134

काठमाडौं । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि विभिन्न उपायहरुको प्रयोग गरिएको छ । तीमध्ये लकडाउन संसार भरिका देशहरुले प्रयोगमा ल्याए । कतिपय देशहरुले अहिले पनि बन्दाबन्दी (लकडाउन) गरिरहेको छ ।

लकडाउनले कोरोना महामारी फैलन कम गर्न ठूलो सहयोग पुर्याएको छ । तर, अहिले धेरैजसो मुलुकहरुमा लकडाउन खुला भइसकेको छ । बिस्तारै जनजीवन सहज बन्दै गइरहेको छ । बन्द भएको उद्योग तथा कलकारखानाहरु पनि बिस्तारै पुनः खुल्ने क्रममा रहेको छ ।

लामो समयसम्म भएको लकडाउन पछि शिक्षा क्षेत्रहरु पनि बिस्तारै खुल्न थालेको छ । अहिले विश्वभरि विद्यालय खुल्ने र नखोल्ने विषयमा उतिकै बहस÷ छलफल भइरहेको छ । लकडाउनको समयमा विद्यालय बन्द हुँदा कोरोना नियन्त्रण गर्न कति सहयोग भयो वा भएन भन्ने विषयमा पनि अध्ययन भएको छ । उक्त अध्ययनले लकडाउनको समयमा विद्यालयले कोरोना नियन्त्रण गर्न ठूलो सहयोग भएको अध्ययनले देखाएको छ ।

स्विट्जरल्यान्डस्थित ज्युरिचको ‘स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी(इटिएच)का अन्वेषककर्ताहरुले गत मार्चमा स्विट्जरल्यान्डका विद्यालयहरु बन्द हुँदा कोभिड–१९ को गतिशिलतालाई पाँच गुणा घटाउन सहज भएको बताएका छन् । विद्यालय बन्द गर्दा मानिसको आनिवानीमा फरक हुने हुँदा अन्य क्षेत्रभन्दा विद्यालयले कोरोना फैलाउन र रोक्न ठूलो भूमिका निर्वाह गर्ने अध्ययनले देखाएको छ । स्विट्जरल्यान्डमा लकडाउन हुन अघि नै २६ वटा समूह बनाइ अध्ययन गरिएको थियो ।

अध्ययनकाअनुसार विद्यालय बन्द हुँदा २१.६ प्रतिशतले कोरोना कम गर्न सहयोग पुगेको देखाएको छ । एउटा समूहको अध्ययनको नेतृत्व लिइरहेका प्रबन्ध सूचना प्रणलीका इटिएच प्रोफेसर स्टिफन फ्युरेग्रीगलले विद्यालय बन्द भएपछि गतिशिलता कम गर्न र कोभिडको नयाँ दरलाई कम गर्न सहयोग गरेको सञ्चार माध्यमहरुलाई बताएका छन् । उनकाअनुसार अहिलेसम्म सबै समूहको निष्कर्षमा भने छलफल हुन बाँकी रहेको छ ।

स्वीस टेलिकम्युनिकेसनले कोभिड–१९ संक्रमितहरुको गत वर्षको फेब्रुवरी १० देखि अप्रिल २६ बीचको तथ्याङ्कमा विश्लेषण गरेको थियो । गतिशिलतामा पर्ने प्रभावहरुको मूल्याङ्कन गर्न उक्त समूहले फरक–फरक उपायहरु अपनाएको थियो ।

उनीहरुकाअनुसार सबैभन्दा प्रभावकारी उपाय भनेको नागरिकलाई पाँचभन्दा बढीको समूहमा भेला हुन वा हिँड्डुल गर्न नदिनु रहेको छ । यो संक्रमण दर नियन्त्रणमा २४.९ प्रतिशत प्रभाव रहेको छ । त्यसैगरी रेष्टुरेन्ट तथा बारका साथै दैनिक अतिआवश्यक सामग्री किनमेल बाहेकका पसलहरु बन्द हुँदा २२.३ प्रतिशत संक्रमण दर नियन्त्रण गर्न सफलता मिलेको अध्ययनले देखाएको छ ।

कोरोना भाइरसले स्वरुप परिवर्तन गरेको विज्ञहरुले बताएका छन् । स्वरुप परिवर्तन गरेको भाइरस पहिलेकोभन्दा १० गुणा खतरनाक रहेको विज्ञहरुले बताएका छन् । कोरोना भाइरसलेरुप परिवर्तन गरेपनि अहिले विश्वका धेरै मुलुकहरुले बिस्तारै सबै कुराहरु खुला गर्दै गएका छन् ।

यस्तै नेपालमा पनि अहिले सबै उद्योग, कलकारखाना, पसल तथा होटलहरु खुला गरिएको छ । विद्यालयहरु पनि बिस्तारै खुल्ने क्रममा रहेको छ । धेरै स्थानीय तहहरुले भने विद्यालय खुला गरि सकेका छन् ।

अध्ययनकाअनुसार अन्य क्षेत्रभन्दा विद्यालय क्षेत्र कोरोना नियन्त्रणको लागि तथा फैलाउनको लागि मुख्य मानिन्छ । विद्यालयहरु खुल्न थालेपनि बच्चादेखि वृद्धसम्मको आनिवानी परिवर्तन हुने अध्ययनले देखाएको छ । तर, पछिल्लो समय विकास भइ रहेको भ्याक्सिनहरुको कारण पनि मानिसहरु आशावादी देखिएका छन् । विभिन्न देशका विभिन्न कम्पनीले कोरोनाविरुद्धको खोप विकास तथा उत्पादन गरिरहेको छ । कतिपय खोप अहिले परीक्षणमा रहेका छन् । तर अहिलेसम्म कुनै पनि खोपलाई कोरोना नियन्त्रणको आधिकारिक विश्व स्वास्थ्य संगठनले मान्यता भने दिएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...