अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएइलाई बिक्री

147

वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएइ) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएइलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बिमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् ।

डोनाल्ड ट्रम्प प्रशासनले उक्त सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मंगलबार जारी गरेको विज्ञप्तिमा युएइसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ ।

पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएइलाई अत्याधुनिक हातहतियार र लडाकू बिमान उपलब्ध गराउनु परेको विदेशमन्त्री पोम्पेओले बताए ।

इजरायलसँग सम्बन्धी सामान्यीकरण गर्नेगरी युएइले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरेलगत्तै युएइलाई अमेरिकाले आधुनिक हातहतियार र युद्धक बिमान बिक्री गर्न लागेको हो ।

यसअघि इजरायल र जोर्डनबीच सन् १९९४ मा तथा इजरायल–इजिप्टबीच सन् १९७९ मा दौत्य सम्बन्ध स्थापना गर्नेगरी सम्झौताहरु भएका थिए । सुडान, बहराइन र युएइसँग भने हालै दौत्य सम्बन्ध स्थापना गर्न सहमति भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...